Chyangba school in Nepali

च्याङ्बा स्कुल

सोलुखुम्बु टाप्टिङ च्याङ्बाको श्री वाङ्छु विश्वदर्शन निमावि यो क्षेत्रका विद्यार्थीहरुको शिक्षा लिने पहिलो विद्यालय हो । यो विद्यालय समाजसेवी एवं पर्यटन व्यवसायी वाङ्छु शेर्पाको आर्थिक सहयोगमा निर्माण भएको हो । विद्यालय रहेको जग्गा समेत आंफै खरीद गरी आफ्नै नामबाट उहाँले विद्यालय संचालन गर्नुभएको हो । विद्यालयका ३ वटै भवन समाजसेवी शेर्पाले निर्माण गर्नुभएको हो । फर्निचर लगायत अन्य पूर्वाधारमा पनि उहाँको सहयोग रहेको छ । विद्यालय हाल सामुदायिकरुपमा संचालित छ । घण्टौ हिडेर टाढाको विद्यालय जानुपर्ने कष्टकर अवस्थाबाट छुटकारा दिलाउन समाजसेवी शेर्पाले गाउँको मध्य भागमा विद्यालय निर्माण गर्नुभएको हो । यस अघि असुविधाका कारण यहाँका कतिपय बासिन्दा शिक्षा लिनबाट बञ्चित हुनुपरेको थियो ।

श्री वाङ्छु विश्वदर्शन निमाविमा च्याङ्बा, चिम्दिङ, खाम्दिङ, चेप्टे खोला, कोदाबारी र शिशाखोलाका बालबालिका अध्ययन गर्ने गर्छन ।

स्थापनाताका विद्यालय अपायक ठाउँमा भएका कारण पछि यसलाई हालको ठाउँमा सारिएको हो । यो विद्यालय सुरुमा गाउँकै एउटा कुनामा बाँसको चित्राले बारेर चलाइएको थियो । स्थानीय समाजसेवी मिङमार शेर्पाले प्रदान गरेको जग्गामा सुरुका केही वर्ष विद्यालय संचालन गरिएको थियो । उहाँ वाङ्छु शेर्पाका माइला दाइ पनि हुनुहुन्छ ।

विद्यालय स्थानान्तरणका लागि संस्थापक शिक्षक व्यवस्थापन समिति र स्थानीय बुद्धिजीवीहरुको सहयोग छ ।

स्थापनादेखि हालसम्म यो विद्यालयमा करिव ७ सय विद्यार्थी भर्ना भई शिक्षा हासिल गरिसकेका छन् । ती मध्ये धेरैजसो स्वदेश र विदेशमा रही आआफ्नो क्षेत्रमा प्रतिष्ठित जीवन बिताइरहेका छन ।

२०४६ सालमा स्थापना भएको यो विद्यालय विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ ।

अमेरिकाको एजुकेसन एलिभेटेड नामक संस्थाले पनि विद्यालयको मर्मत सम्भारमा सघाएको छ । सो संस्थाका तर्फबाट स्थानीय पेमदोर्जी शेर्पाले भूकम्पग्रस्त विद्यालयको एउटा भवनको मर्मत सम्भार गर्नुभएको थियो । विद्यालयका विद्यार्थी र शिक्षकको पोशाकका लागि पनि सो संस्थाको सहयोग रहेको छ । सहयोगी पेमदोर्जी शेर्पाले पनि प्रारम्भिक शिक्षा यही विद्यालयबाट हासिल गर्नुभएको हो ।

विद्यालयका सुरुवाती दिनमा विदेशी नागरिकहरुको पनि सहयोग रहेको छ ।

स्विडेनका नागरिक गोरान क्रप र उनका साथी रेनाटाले विद्यालयलाई प्राविबाट निमाविमा स्तरोन्नति गर्दा करिव २ लाख ९५ हजार रुपैया दिएका थिए । शिक्षकको तलब भत्ताका लागि उनीहरुले उक्त सहयोग गरेका हुन् । विद्यालयलाई नजिकबाट माया गर्ने गोरानको अमेरिकामा पहाड चढ्ने क्रममा निधन भएको हो । उनको मृत्युपछि विद्यालयले एउटा असल मित्र गुमाएको छ । गोरान क्रप स्वीडेनबाट साइकलमै नेपाल आई सगरमाथा आरोहण गरी पुन साइकलमै स्वदेश फर्किएका थिए । रेनाटा पनि सरगमाथा आरोहण गर्ने पहिलो स्वीडिस महिला हुन । कीर्तिमानी महिला रेनाटा पनि साइकलमै आएर साइकलमै फर्किएकी हुन् ।

Aventyrsresor कम्पनि मार्फत नेपाल भ्रमणमा आएका स्विडिस पर्यटक Mikael adolf Kundel, Margareta Ivarsson, र Niclas Nygren ले पनि ३ थान कम्प्युटर प्रदान गरेका थिए ।

त्यस्तै अमेरिकी नागरिक Paul Pfau ले पनि सन १९९५ मा सगरमाथा आरोहणको सफलतापछि शिक्षकको तलब सुविधाका लागि करिव ३५ हजार रुपैया सघाएका थिए । स्वीडेनकै Bosse Tingback का छोरीहरुले पनि विद्यालयका शिक्षक कर्मचारीको तलब भत्ताका लागि सन् १९९१ मा करिव २५ हजार रुपैया सहयोग गरे ।

स्थापना कालमा सबै क्षेत्रको सहयोग विद्यालयका लागि निकै महत्वपूर्ण रह्यो ।

विद्यालयलाई स्थानीयबासीहरुले पनि सक्दो सहयोग गर्दै आएका छन् ।

देशको दुर्गम क्षेत्रका रुपमा रहेको सोलुखुम्बुमा राज्यको उचित ध्यान पुग्न नसकेको अवस्थामा स्थानीय बासिन्दाको पहलमा भएको यो कार्य अन्य क्षेत्रका लागि समेत उदाहरणीय बनेको छ ।

विद्यालय खुलेपछि यस क्षेत्रका जनताको जीवनस्तर र शैली पनि उन्नत भएको छ । विद्यालयलाई अझ सुविधा सम्पन्न बनाई गुणस्तरीय शिक्षा दिन शिक्षक कर्मचारी व्यवस्थापन समिति र स्थानीयबासी अग्रसर छन् ।

विद्यालयमा रहेको पुस्तकालयलाई थप व्यवस्थित बनाउने काम भैरहेको छ ।

विद्यार्थी आदान प्रदानका कार्यक्रम मार्फत शैक्षिकस्तर उकास्ने कार्यक्रम पनि विद्यालयको रहेको छ । सूचना र प्रविधि सहित कम्प्युटर र अंग्रेजी भाषाको प्रभावकारी पठन पाठनका लागि दक्ष शिक्षक मार्फत अध्यापन गराउने दिशामा पनि विद्यालय अग्रसर छ ।।